काठमाडौं। नेपाली कांग्रेसले निजामति कर्मचारी युनियनको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने अडान दोहोर्याएको छ । श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमगाईले सरकारले निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल माग गरेका छन ।
विभाग प्रमुख हुमागाईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘निर्वाचनको मिति घोषणा गरेर अन्तिम तयारी भई सकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउने देखी विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकार माथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं ।
सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको कांग्रेसको आरोप छ । संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्र माथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको कांग्रेसको ठहर छ ।




