मुख्य समाचार

संवैधानिक सीमाभित्रै महाधिवेशन हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन संवैधानिक सीमाभित्रै हुने बताएका छन् । उनले बिहीबार नेपाली कांगे्रस कोरोना अनुगमन समितिद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय भर्चुल छलफलमा उक्त कुरा बताएका हुन् ।

छलफलमा सभापति देउवाले कोरोना महामारी रोक्ने र जनताका अप्ठ्याराहरुलाई सम्बोधन गर्नेभन्दा पनि सरकार भ्रष्टाचारमा लिप्त भएकाले नेपाली कांग्रेसले यसका विरुद्धमा आन्दोलन गर्ने बेलासमेत भएको बताए । उनले कर्णाली प्रदेशको जनप्रतिनिधिहरुलाई आफ्नो तर्फबाट इमान्दारितापूर्वक काम गर्न निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, उक्त प्रदेशका पार्टीका जिल्ला सभापतिहरु, स्थानीय तहका जनप्रतिनिधिहरुले कोरोना कहर र अन्य अप्ठ्याराका बारेमा आफ्ना विचार राखेका थिए ।

छलफलमा संसदीय दलका नेता शाहीले नेपाली कांग्रेसको महाधिवेशनको तालिका फेर्नुपर्ने बताए । उनले भने, ‘हिमाली जिल्लामा मंसिरपछि हिमपात सुरु हुन्छ, त्यस्तो बेलामा कुनै पनि प्रकारका अधिवेशनहरु गर्न सकिँदैन । तसर्थः अधिवेशनका कार्यक्रमहरु केही समयपछि सार्नुपर्छ ।’

कोभिड अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा भएका व्यथित, भ्रष्टाचार, अनियमितता र स्वच्छाचारिका विरुद्धमा पार्टीका कार्यकर्तालाई एक हुन् आग्रह गरे । उनले भने, ‘हामी आफ्नाविरुद्ध खनिनुभन्दा पनि विपक्षीहरुले गरेका झुटा प्रचारवाजी र बद्मासीलाई जनतासामु उजागर गर्नुपर्छ ।’ उनले पार्टीको महाधिवेशन निर्धारित समयमै गरी आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *