काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सिफारिस र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकको कार्यसूचिमा परेका छैनन् ।
आज सोमबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने र राष्ट्रियसभामा गौतमलाई लैजान राष्ट्रिपति समक्ष सिफारिस गर्ने अनुमान गरिएको थियो। तर, मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा गौतम र कुलमानको नियुक्तिको एजेन्डा नपरेको बताइएको छ ।
कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो। त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमा जानकारी दिएका थिए।
आजको मन्त्रीपरिषद् बैठकको एजेण्डा सूचीमा वामदेव र कुलमान दुवैको नियुक्तिको विषय रहेनछ, प्रधानमन्त्रीले सिधै प्रस्ताव गरेर निर्णय गर्ने तयारी हो भने त्यो पछि नै थाह होला’, एक मन्त्रीले भने ।




