काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी तत्काल कारबाही गर्न प्रशासनलाई ३ दिने अल्टीमेटम दिएका छन ।
सिन्धुपाल्चोकका भोटेकोशी, सुनकोसी, इन्द्रावती, बलेफि लगायतका नदि किनारमा नदीजन्य पदार्थको ब्यापक तस्करी भइरहेको विभिन्न मिडियाबाट खबर सार्वजनिक भएपछि बस्नेतले अवैध तस्करी नियन्त्रणमा चासो देखाएका हुन ।
नदी दोहनले पहिरोको प्रकोप बढाइरहेका छ नेता बस्नेतले भने ‘असारदेखि भदौ महिनाभर नदीमा गिट्टी, ढुङ्गा र बालुवा उत्खनन गर्न नपाउने कानुन हुँदाहुँदै सिन्धुपाल्चोकमा भने नेकपाका नेता तथा कार्यकर्ताहरुले कानुन बिपरित रातभर हजारौं टिप बालुवा निकालेर काठमाडौं लगिरहेका छन ।’
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध रुपमा बालुवा निकाल्न संलग्न नेकपाका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा नलिएकोमा उनले आक्रोस व्यक्त गरे । बालुवा तस्करीमा संलग्नलाई ३ दिनभित्र आबश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई मन्त्री बस्नेतले चेतावनी समेत दिएका छन ।
व्यपाक दवाव सिर्जना भएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले तीन दिन भित्र गिट बालुवा तस्करीमा संलग्न जो कोही भएपनि कारवाही गर्ने अडान आफूसंग व्यक्त गरेको पूर्वमन्त्री बस्नेतले बताए ।
पूर्वमन्त्री बस्नेतले अवैध रुपमा निकालेको बालुवा बाढी पहिरो पीडितहरुको आवास निर्माणमा प्रयोग गर्न माग गरेका छन ।




