ताजा समाचार

नेकपा सचिवालय बैठक : ओलीका लागि कति सहज कति असहज ?

काठमाडौं । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद बढ्दै गएपछि लामो समयदेखि सचिवालय बैठक समेत बस्न नसकेको अवस्थामा विहिबार सचिवालय बैठक आह्वान गरिएको छ । श्रावण ४ गतेपछि सचिवलाय बैठक बस्न नसकेको अवस्थामा विहिबारको बैठकको एजेण्डा भने सुझाव कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल रहेको नेकपा निकट स्रोतले जनाएको छ ।

महाधिवेशनको बहसले प्राथमिकता पाएका बेला उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान चाहेको बताएपछि विहिबारको सचिावलय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सहज हुने अवस्था छैन । उपाध्यक्ष समेत रहेका गौतमले गत फागुनमा सचिवालय बैठकले गरेको निर्णयलाई कार्यान्वयन गराउन माग गरिरहेका छन् जसका कारण ओलीलाई असजिलो भैरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन ६ बुँदे प्रस्ताव ल्याएर प्रधानमन्त्री ओली खेमामा पुगेका गौतमले राष्ट्रियसभा सदस्य हुने रहर मात्रै गरेनन सचिवालय बैठक कार्यान्वयन नभएकोमा गुनासो समेत गरेका छन् । युवराज खतिवडालाई पुनः राष्ट्रियसभा सदस्यमा मनोनय गरी अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा रहेका ओलीलाई गौतमको रहर तगारो बन्ने देखिएको छ ।

ओली पक्षले गौतमको राष्ट्रियसभामा जाने ‘च्याप्टर क्लोज’ भइसकेको बताइरहँदा उनले आफूलाई पहिला नै सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेकाले कार्यान्वयन हुनुपर्ने बताएका छन् । गौतमले सोमबार ओलीलाई भेटेर आफूले संसदीय चुनावमा भाग नलिने तर राष्टियसभा सदस्यमा नजाने नभनेको स्मरण गराएका थिए । खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा प्रधानमन्त्री ओली देखिएपछि त्यसमा तगारो हाल्न गौतमले राष्ट्रियसभा सदस्य बन्न चाहेको बताएको अड्कल गरिएको छ । ६ बुँदे प्रस्ताव ल्याएर ओलीनिकट बनेका गौतमले आफू राष्ट्रियसभामा जान चाहेको बताएपछि ओली–गौतमबीच फेरि फाटो आउने संकेत देखापरेको छ ।

फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरेको थियो । तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कार्यान्वयन गरेका छैनन । उनले खतिवडालाई फेरि पनि राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न चाहेका छन । गत फागुनमा दुई वर्षे कार्यकाल सकिएपछि खतिवडालाई ओलीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरी अर्थमन्त्रीमा निरन्तरता दिएका हुन । नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ ।

खतिवडाको ६ महिने कार्यकाल यही भदौ २० गते सकिँदैछ । वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने अर्को निर्णय गरेको थियो । त्यसपछि प्रधामन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा जान नचाहेको आँकलन गर्दै आएका थिए । विहिबारको बैठकमा गौतमको सो विषयले प्रवेश पाउने अवस्थामा आएमा ओलीका लागि बैठक अवधिभर असजिलो हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *