काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अनेक गुट र उपगुट सक्रिय भएका बेला इश्वर पोखरेल आफ्नो गुट बनाउन पनि नसक्ने तर पार्टीका गनगन गर्ने नेता हुन् । पार्टीमा झनझन बलशाली बन्दै आएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो समूहको घेराबन्दीमा पार्न ओली पक्षमा रहेका गुटहरु भित्र बढो रोमाञ्चकारी प्रतिस्पर्धा चलिरहँदा जता बलियो शक्तिको निर्माण हुन्छ उनी त्यतै लाग्ने गर्छन । यतिबेला ईश्वर पोखरेल नेतृत्वमा सक्रिय समूह राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो समूह अनुकुल बनाउन दौडधुपमा रहेको पनि उनी सफल हुन सकिरहेका छैनन ।
पोखरेल समूह पार्टी र सरकारमा आफ्नो बर्चश्व जमाउन चाहन्छ । त्यसका लागि समूहमा रहेका पार्टी भित्र र बाहिरका प्रभावशाली सदस्यहरु विष्णु रिमाल , युवराज खतिवडा , महाप्रसाद अधिकारी (गर्भनर) लक्ष्मीप्रपन्न निरौला (अध्यक्ष कृषि विकास बैक ) को दौडधुप निकै चलेको भएपनि पोखरेप्रति सहानुभूति राख्ने बाहेक ओलीले कुनै काम गरेका छैनन । पोखरेलले केही दिन अघि रिमाल , खतिवडा , अधिकारी र निरौलालाई लिएर राष्ट्रपति निवास पुगेको खबर नेकपाको नेतृत्व पंत्तिमा निकै चर्चाको विषय बनेको छ । पोखरेल समुह पार्टी र पार्टी बाहिरका महत्वपूर्ण पदहरु कब्जा गर्ने रणनीतिमा रहेको बताइन्छ । यसका लागि बामदेव गौतम र विष्णु पौडेल उनीहरुका मुख्य बाधकका रुपमा रहेका छन् । यसैले यति बेला यो समूह गौतम र पौडेललाई राष्ट्रपति र प्रधानमन्त्रीबाट टाढा बनाउने मुख्य लक्ष्यका साथमा दौडधुपमा रहेको बुझिएको छ । त्यसो त पोखरेलले पूर्वी नेपालको नेकपा समूह बनाउन पनि खोजेको उनी निकटले बताएका छन् ।
पूर्व मोरङ , झापा , सुनसरी , इलाम लगायतका केही जिल्लाका नेकपाका नेता ( कार्यकर्ता र उनीहरु निकटस्त शुभेच्छुकहरुको सिण्डिकेट स्थापना गर्ने योजनामा पोखरेल लागेको स्रोतको दावी रहेको छ । पोखरेल समूहका चुनौतीका रुपमा रहेका गौतम र पौडेललाई ओलीबाट टाढा बनाउन सके मात्र पार्टीमा उनीहरुको पूर्ण राज चल्ने छ । यसैले पनि गौतम र पौडेललाई शितल निवास र बालुवाटरबाट टाढा बनाउन यो समूहले आफ्नो सम्पूर्ण शक्ति खर्च गरिरहेको छ । स्रोतका अनुसार यो अभियानमा पोखरेल समुह असफल भएका खण्डमा उनीहरुको राजनीतिक यात्रा नै अन्योलमा पर्ने छ । यसकारण पनि सामदाम र दण्डभेदको रणनीतिमा उनीहरु लागिरहेका छन् । यसका लागि उनीहरले राष्ट्रपति भण्डारीलाई हतियारका रुपामा प्रयोग गर्न खोजिरहेका छन् । यदि भण्डारीका माध्यमबाट गौतम र पौडेललाई ओलीबाट टाढा राख्न सकेका खण्डमा पोखरेल समुहले ठूलो सफलता हाँसिल गर्ने छ । राष्ट्रपति भण्डारीसंग निकट मानिने पोखरेलले गौतम पौडेललाई किनारा लगाउन राष्ट्रपतिलाई फकाउँदै आएछन् । यसै सिलसिलामा उनले भदौको दोस्रो साता आफ्नो समूह बोकेर राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीसंगको लामो छलफलबाट केही आशावादी भएर फर्किएका उनीहरु ओलीको व्यवहारको पर्खाइमा रहेका थिए । त्यसो त पोखरेल समूहले पौडेललाई अर्थ र रक्षामा आउन नदिनका लागि पनि पहिले देखि पहल गरिरहेको छ ।
अर्थमन्त्री खतिवडाको रक्षाकवजका रुपमा रहेका पोख्रेलले नै अमूर्तरुपमा अर्थमन्त्रालय संचालन गरिरहेको आरोप समेत उनले खेप्नु परेको छ । मन्त्रमन्त्रालयका महत्वपूर्ण निर्णय पोखरेलकै अनुकुलमा हुन्छन् , भन्ने दृष्टान्त त गर्भनरका लागि शैक्षिक योग्यता नै अपुग रहेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्रबैंकको गर्भनर बनाउन सफल हुन हो । यसो त पार्टी भित्र र बाहिर चर्को विवादलाई चिर्दै राष्ट्रिय बाणिज्य बैकको अध्यक्ष आफ्ना सम्धी उपेन्द्र कोइरालालाई नियुक्त गरि छाड्नु पनि खतिवडा अर्थका निमित्त सहायक पात्रमात्रै हुन नायक त पोखरेल नै हुन भन्ने कुरालाई अझ बढी प्रष्ट पारेको छ । यी दुई विवादित नियुक्तिले खतिवडाको राजनीतिक र सामाजिक जीवनमा ठूलो क्षती पुग्ने उनी निकटहरु बताउँछन् । पार्टीमा आफु शक्तिसम्पन्न बन्नका लागि पार्टी भित्र र बाहिर बलियो बन्ने महत्वाकाँक्षा चुलिएका कारण पोख्रेलको अहिले चौतर्फी आलोचना भइरहेको छ । सर्वसाधरण देखि बौद्धिकवर्गसम्मको आलोचनालाई उनले झिंगाको सरापले डिंगो मर्दैन झै गरिरहेका छन् । बरु उल्टै विज्ञप्ति जारी गरेर कानून र विधिको पाठ पढाउँदै पनि छन् । पोखरेलको महत्वकाँक्षाका बारेमा ओली बेखबर भने छैनन् । हरेक तरहका नाता सम्बन्धलाई प्रयोग गरेर सरकार र आफुलाई अफ्ठ्यारोमा पारेको कुरालाई ओलीले बुझ्न थालेको स्रोतले बताएको छ ।
पछिल्लो समयमा पोखरेल पार्टी भित्र आवश्यक भन्दा बढी शक्तिशाली बन्न खोजेको ओलीले महसुस गर्न थालिसकेको स्रोतले बताएको छ । राष्ट्रपतिलाई भेटेर पार्टीमा आफुहरु अनुकुलको वातावरण निर्माण गर्न गरेको पहलबाट ओली अझ बढी सशंकित बनेको बुझिएको छ । स्रोतका अनुसार ओलीले आफ्नो समूहमा गम्भीर समीक्षा गर्दै ठूलो हेरफेर गर्ने संकेत पोखरेल र रिमाललाई दिइसकेका छन् । यही समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरे र राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा विवादपूर्ण ढंगबाट नियुक्त भएका उपेन्द्र कोइराला पनि पर्दछन् । कोइराला पोखरेलका सम्धी हुन भने नविन घिमिरे कोइरालाका साडु दाइ हुन । यो नाता सम्बन्धले पनि सरकारका गम्भीर कामहरुमा ठूलो प्रभाव पारेको बताइएको छ ।




