मुख्य समाचार

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, सीमा विवादबारे कुरै उठेन

काठमाडौं । नेपाल–भारत संयुक्त निरीक्षण संयन्त्रको बैठक आज बसेको छ । बैठक लामो समयपछि बसेको हो । नक्सा विवादका कारण नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच आज भर्चुअल माध्यमवाट औपचारिक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनामा केन्द्रित रहेर कुराकानी भयो । छलफलमा भारतले भुकम्पपछिको पुनर्निर्माणमा ५० हजार घर बनाउन सघाउने प्रतिबद्धता अनुसार ४६ हजार घर निर्माण सकेको जानकारी गराएको छ ।

बैठकमा कोरोना भाइरस रोकथामका लागि भारतले मेडिकल उपकरण र औषधिलगायत उपलब्ध गराएर गरेको सहयोगको नेपालले प्रशंसा गरेको छ । दुईपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गर्दै कार्यान्वयनलाई तिब्रता दिने सहमति पनि बैठकमा भएको परराष्ट्र मन्त्रालयको प्रेस नोटमा उल्लेख छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, विराटनगर एकीकृत चेक पोस्टको निर्माण लगायतको पनि समीक्षा भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारतकको प्रतिनिधित्व नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए ।

संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको बताइएको छ । सीमाबारे छलफल गर्न सचिवस्तरीय संयन्त्र भए पनि त्यसको बैठक अहिलेसम्म हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *