काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई गलाएरै छाड्ने अडान दोहोर्याएका छन् । आफू निकटका नेताहरुसँगको भेलामा दाहाल, नेपाल झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले ओलीलाई गलाएर छाड्ने बताएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाइरहेका बेला प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर भेला, बैठकलाई तीव्रता दिदै सो कुरा बताएका हुन् । बिहीबार प्रचण्ड–नेपाल समूहले काठमाडौंको थापा गाउँमा पाँच नम्बर प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यलाई बोलाएर विवादबारे ब्रिफिङ गर्दै ओलीले पार्टी निर्णय मान्न बाध्य बनाउने बताएका थिए । गोप्यरूपमा गरिएको भेलामा प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । त्यस्तै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, देव गुरूङ रामकुमारी झाक्री, ठाकुर गैरलगायत नेता उपस्थित रहेको बताइएको थियो ।
भेलामा पाँच नम्बर प्रदेशका राजधानीमा उपलब्ध करिब २० जना केन्द्रीय सदस्य उपस्थित थिए । दाहाल नेपाल समूहले अघिल्लो दिन पनि सोही स्थानमा आफू पक्षका नेताहरुको भेला गरेर आफ्ना धारणा राखेका थिए । गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । गण्डकी प्रदेशको भेलामा स्थायी कमिटी सदस्य देव गुरुङले पार्टीमा वैचारिक बहसको आवश्यकता रहेको भन्दै १० बुँदे प्रस्ताव राखेका थिए । सो भेलामा ओलीकै कारण विवाद उत्पन्न भएको र आफूहरु विवाद निरुपण गर्न लागिपरेको बताएका थिए ।
स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् । केही दिनअघि नेता नेपालले कोटेश्वरमा बोलाएर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।




