मुख्य समाचार

कोरोनाले आज ५ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ६३ पुग्यो

काठमाडौं । नेपालमा आज एकै दिन कोरोना संक्रमणले ५ जनाको निधन भएको छ । पर्सामा २, मोरङमा २ र काठमाडौंमा १ जनाको निधन भएको हो । आज निधन भएका पाँचमध्ये २ दुईजनाको कोराना पुष्टि भइसकेको छ भने बाँकी तीनजनाको रिर्पोट आउन बाँकी छ ।

वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो । पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीलाइ सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।

यता, मोरङमा कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका बुधबार दिउँसो रिपोर्ट आउँदा दुबै जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए ।

उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो । कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए । आइसोलेसनमा उनको मृत्यु भएको दुई घण्टापछि रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । बुधबार दुई जनाको मृत्यु भएसँगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यस्तै कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *