मुख्य समाचार

मेलम्ची पहिरोमा बेपत्ता ८ जनाकै शव निकालियो

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिएको थियो ।

मृत्यु भएका कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको थियो । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप चौरासिया, २५ बर्षिय विक्रम थिङ, २३ बर्षिय मानबहादुर रुम्बा छन् । त्यस्तै वीरगञ्जकै २० वर्षीय सिमन घलान, २१ बर्षिय शिव बालक धामी, १७ बर्षिय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

यसैबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले एउटा घर पुर्दा श्रीमान श्रीमतीको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै घर पुरिँदा अन्दाजी ४० वर्षका घरधनी यज्ञबहादुर क्षत्री र उनकी श्रीमती लक्ष्मी क्षत्रीको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकमै गत असार २४ गते राति भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझै फेला परेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *