काठमाडौं । प्रहरी प्रधान कार्यालयले कमलादीमा सुन राखेको झोला फाल्ने घटनाको अनुसन्धान गर्ने जिम्मेवारी हेरफेर गरेको छ । सर्वसाधारणले पत्याउनै नसक्ने र प्रहरीको बद्नाम हुने खालको घटना विकसित भएपछि प्रधान कार्यालयले महानगरीय प्रहरी परिसरबाट अनुसन्धानको जिम्मेवारी खोसेर अपराध अनुसन्धान विभागलाई दिएको छ ।
सुन सुन्धारामा बरामद भएको तर घटनास्थल परिवर्तन गरेर कमलादी देखाएको खुलेपछि अनुसन्धान टोली नै फेरिएको हो । प्रहरीले एसएसपी सुशील यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको छ । यसअघि अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
कमलादीमा सुन राखेको झोला र पेस्तोल फालेर हिँड्ने ३ जनालाई प्रहरीले नवलपरासीको दुम्किबासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया हुन् ।
महानगरीय अपराध महाशाख र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा उनीहरु पक्राउ परेका हुन । पक्राउ परेका ३ जनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन तथा सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । सुन फालेर भागेको बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो जीप भने फेला परेको छैन । प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पुगेको बताइएको छ ।




