देश

मधेसमा दुई महिनामा २५० जनाले आत्महत्या गरे

जनकपुरधाम । पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा आत्महत्याका घटना बढ्दै गएको पाइएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा प्रदेशका विभिन्न जिल्लामा २५० जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनामा २५० जनाले आत्महत्या गरेका हुन् ।

उनका अनुसार सबैभन्दा बढी सिरहा र बारामा ४६/४६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ तथा पर्सामा २० जनाले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आत्महत्याका घटनामा अधिकांशले झुन्डिएर तथा विष सेवन गर्ने गरेका छन् । केहीले भने हाम फालेरसमेत आत्महत्या गर्ने गरेको एसएसपी ढकालले बताए ।

आत्महत्याका घटनाको ठोस कारण यकिन हुन नसके पनि घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा जीवनका विभिन्न समस्या प्रमुख कारण हुन सक्ने स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

उमेरका आधारमा १६ वर्षमुनिदेखि ७० वर्षसम्मका व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिको संख्या बढी रहेको एसएसपी ढकालले बताए । उनका अनुसार पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ ।

महिलामाथि हुने हिंसाका कारण पनि आत्महत्याका घटना बढेको महिला अधिकारकर्मी सरस्वती मण्डलको भनाइ छ । उनका अनुसार आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्था भएका व्यक्ति बढी देखिएका छन् ।

स्थानीय बुद्धिजीवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले आत्महत्याका घटना रोक्न समाजका सबै पक्ष गम्भीर भएर समस्या समाधानमा जुट्नुपर्ने बताए ।

“यस किसिमको समस्यामा समाजका सबै पक्ष गम्भीर बनेर समाधानमा एकजुट हुनुपर्छ । नभए यो समाजका लागि ठूलो चुनौतीका रूपमा खडा हुन सक्छ,” उनले भने ।

उनले आत्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्श तथा आवश्यक मनोचिकित्सकीय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *