जनकपुरधाम । लामो समयदेखि जारी विवाद र राजनीतिक रस्साकस्सी अन्त्य गर्दै मधेश प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मतिले पारित गरेको छ।
योजना छनोट, बजेट विनियोजन तथा केही प्रावधानप्रति विपक्षी दलले असन्तुष्टि जनाएपछि बजेट पारित प्रक्रिया केही समय अन्योलमा परेको थियो। विवाद समाधानका लागि प्रदेश सभाले गत साता सात सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलले बजेटमा सुधार गर्नुपर्ने विषय समेटिएको १० बुँदे प्रतिवेदन प्रदेश सरकारलाई बुझाएपछि सहमतिको वातावरण बनेको थियो। सरकारले प्रतिवेदनमा उल्लेख भएका सुझावअनुसार आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएसँगै विपक्षी दलहरू पनि बजेट पारित गर्न तयार भएका हुन्।
बुधबार बसेको प्रदेश सभा बैठकले संशोधनसहितको बजेट सर्वसम्मतिले अनुमोदन गरेको हो। बजेट पारित भएसँगै मधेश प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका कार्यक्रम तथा योजनाको कार्यान्वयन अघि बढाउने बाटो खुलेको छ।




