राजनीति

लोकतन्त्रका आधारभूत स्तम्भमा भएको आगजनी ‘माओवादी द्वन्द्वभन्दा ठूलो क्षति’: नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालैका प्रदर्शनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत संरचनामा भएको आगजनीलाई गम्भीर चिन्ताको विषय बताएको छ। पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादी द्वन्द्वको समयभन्दा ठूलो भएको दाबी गरेका छन्।

उनले देशभर फैलिएको आगजनी, तोडफोड र हिंसात्मक गतिविधि शान्तिपूर्ण विरोधको मर्मविपरीत रहेको भन्दै, यस प्रकारको घटनाले लगानी वातावरणलाई समेत गम्भीर क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

‘लोकतन्त्रलाई लक्ष्य बनाइयो’

“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता स्तम्भमा समेत आगजनी हुनु लोकतन्त्रकै जगमाथि आक्रमण हो,” प्रवक्ता महतले विज्ञप्तिमा भनेका छन्, “म लगायत धेरैको निजी घर, उद्योग व्यवसाय र सञ्चारगृहमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्तै दुःखद र निन्दनीय छ।”

महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकाय सक्रिय भएर शान्ति–सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका छन्। साथै, पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई लक्ष्य गरेर भएको आक्रमणको पनि उनले घोर निन्दा गरेका छन्। विज्ञप्तिमा कांग्रेसले कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट गर्दै लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापनाका लागि सबै दलसँग संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। “लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग कांग्रेस तत्काल संवादमा जुट्छ,” विज्ञप्तिमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *