काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता भएको छ।
नेकपा समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा भएको भेटबारे जानकारी दिँदै उपमहासचिव रामकुमार भट्टराईले समाजवादी मोर्चालाई सक्रिय बनाउन र बाम एकताको सम्भावनाबारे छलफल भएको बताए।
उनका अनुसार, बैठकमा पार्टीभित्र देखिएका असमझदारी समाधान गर्ने विषय पनि उठाइएको थियो। वार्तामा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहित दुवै दलका वरिष्ठ नेताहरू सहभागी थिए। विश्लेषकहरूले प्रचण्ड–माधव भेटलाई आगामी राजनीतिक समीकरणमा वामपन्थी एकताको प्रारम्भिक संकेतका रूपमा हेरेका छन्।




