मुख्य समाचार

माओवादीले भ्रम सिर्जना गर्दैछ, सबै सचेत हुनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् ।

बुधवार विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौति विषयका गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाए ।

उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए ।उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताए ।

उनले भने– ‘एउटा मुद्दा सात बुँदे सहमतिमा संविधानको संशोधनको कुरा पनि उल्लेख गरेका छौँ । कतिपयले, खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेका छौ, समावेशीतालाई कमजोर गर्न गरिरहेका छौ भनेर गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोशिस भएको छ । यो कदापी होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन । कुनै सम्झौता हुँदैन । निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ । त्यो हाम्रो लक्ष्य हो तर समावेशितामा सम्झौता हुँदैन । प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ । यहाँ महिला—महिलाको बीचमा, दलित—दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ । यसरी हामी एउटै दलको बहुमत आउनसक्ने परिस्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए ।

सांसद महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *