काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धि गरेको भन्दै उचित दर–रेट कायम गर्नुपर्ने मागसहित क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा बिहीबार उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलाठेल भएको र त्यसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम तय गरेको एक प्रदर्शनकारीले बताए । उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला खोलिएको थियो । राजनीतिक दलहरूले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको बताएका छन् । आन्दोलनकारीले मूल्यवृद्धिको निर्णय फिर्ता नगरे थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने बताएका छन् ।
धरान उपमहानगरको मातहतमा रहेको खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर रहने प्रावधान राखिएसँगै एडीबीको ऋण तिर्न पैसा नभएको र बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर साम्पाङले विभिन्न शुल्क जनतालाई मार पर्ने गरी वृद्धि गरेपछि अहिले विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता तथा नागरिकहरु आन्दोलनमा उत्रिएका हुन् ।




