काठमाडौं । लोकप्रिय मतसहित नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका युवा नेता आशिष शर्माले लुम्बिनी प्रदेश सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश अधिवेशन आज बिहीबारबाट सुरु भएको छ । भैरहवामा पत्रकार सम्मेलन गरी शर्माले प्रदेश सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी कपिलवस्तु क्षेत्र नम्बर १ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।
जिल्लाका कांग्रेस कार्यकर्ताको आग्रहमा उद्यमी शर्मा सक्रिय राजनीतिमा होमिएका हुन् । ‘कपिलवस्तुमा नेपाली कांग्रेसको पकड र संगठनलाई बलियो बनाउन धेरैले राजनीतिमा आउन आग्रह गर्नुभयो, जिल्लामा अत्याधिक माया गरेपछि प्रदेश सदस्यको लागि उम्मेदवारी दिइँदैछु’ पत्रकार सम्मेलनमा शर्माले भने, ‘राम्रो काम गर्छ भनेरै मलाई कपिलबस्तु १ का कांग्रेस कार्यकर्ताले सर्वाधिक मत दिएर महाधिवेशन प्रतिनिधिमा जिताउनुभयो, म उहाँहरुको विश्वासलाई टुटन दिने छैन।’
पूर्वमन्त्री एवं भारतका लागि नेपाली पूर्व राजदूत दीपकुमार उपाध्यायका छोरासमेत रहेका शर्मा नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभाग लुम्बिनी प्रदेश संयोजक समेत हुन् । पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि व्यक्तिगत क्षमता र योग्यताका आधारमा उनी राजनीतिमा स्थापित भएका हुन् ।




