राजनीति

कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोकमा पौडेल समूह बढारियो

चौतारा । सिन्धुपाल्चोक जिल्लाको स्थानीय निकायमा नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी जीत हासिल गरेको छ । सिन्धुपाल्चोकको १२ स्थानीय निकायमध्ये ९ वटामा संस्थापन पक्ष विजयी भएको छ भने दुईवटा मिश्रित र एउटामा पौडेल समूहले जितेको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको क्षेत्र नं. १ मा संस्थापन पक्षले ‘क्लिन स्वीप’ गरेको छ भने क्षेत्र नं. २ को अधिकांश स्थानीय निकायमा संस्थापन पक्ष हाबी भएको छ । जनताको सेवामा अहोरात्र खटिएका नेता बस्नेतको सक्रियताले गर्दा यस्तो परिणाम आएको हो । उनले भने, ‘जनताको घरदैलोमा पुगेर सुखदुखमा साथ दिएकाले यस्तो परिणाम आएको हो । को कुन समूहभन्दा पनि कांग्रेस विजयी भएका छन् ।’

प्राप्त नतिजाअनुसार भोटेकोशी गाउँपालिकामा देवीबहादुर बुढाथोकी, बाह्रबिसे नगरपालिकामा शम्भु तिमिल्सना, त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ, लिशंखुपाखर गाउँपालिकामा जेठा लामा (जोगलाल), सुनकोशी गाउँपालिकामा रुपकाजी लामा, बलेफी गाउँपालिकामा रामकुमार लामा, जुगल गाउँपालिकामा सगुन श्रेष्ठ विजयी भएका छन् ।

मेलम्ची नगरपालिकामा बसन्त गुरुङ, हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी, इन्द्रावती गाउँपालिकामा जीवन थापा मगर, चौतारा सँगाचोकगढीमा इन्द्रलोचन धिताल, पाँचपोखरी गाउँपालिकामा प्रेम तामाङ निर्वाचित भएका छन् ।

पाँचपोखरी गाउँपालिकाबाट निर्वाचित तामाङ मात्र पौडेल समूहका हुन भने इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा संस्थापन र पौडेल समूहका लगभग बराबरी विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *