देश

 चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने विधेयकमाथि संसदीय छलफल

काठमाडौँ । चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र नियमनलाई समयानुकूल बनाउन प्रस्ताव गरिएको चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सैद्धान्तिक छलफल भएको छ ।

समितिको आज बसेको बैठकमा चलचित्र क्षेत्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक, सिर्जनशील तथा आर्थिक योगदान गर्ने उद्योगका रूपमा स्थापित गर्ने विषयमा छलफल भएको हो ।

सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै नयाँ प्रविधि, सङ्घीय संरचना र चलचित्र क्षेत्रका समसामयिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित नयाँ विधेयक अघि बढाएको हो ।

समितिका सभापति डा. ओजस्वी शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गरी विधेयकलाई थप परिष्कृत बनाइने बताइन् । चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यान दिएर आवश्यक कानुनी व्यवस्था गरिने उनको भनाइ थियो ।

बैठकमा सांसद डा. लेखजङ्ग थापाले चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे । चलचित्र संस्कृति र पहिचानको महत्त्वपूर्ण क्षेत्र भएकाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सेन्सर प्रणालीको व्यवस्थापन तथा चलचित्रकर्मीको सामाजिक सुरक्षाका विषय विधेयकमा समेटिनुपर्ने उनले बताए ।

सांसद रमेशकुमार मल्लले राष्ट्रिय आवश्यकताअनुसार चलचित्रसम्बन्धी नयाँ कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालमा चलचित्र क्षेत्रको ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको उल्लेख गर्दै उनले पर्यटन र चलचित्र उद्योगलाई एकीकृत रूपमा विकास गर्न आवश्यक कानुनी तथा पूर्वाधार तयार गर्नुपर्ने बताए ।

त्यस्तै, सांसद डा. तोसिमा कार्कीले चलचित्र क्षेत्रलाई बहुआयामिक रूपमा हेर्नुपर्ने बताइन् । नेपाली चलचित्रको सहज उपलब्धता, स्वदेशी चलचित्रको प्रदर्शन तथा प्रवर्द्धन र चलचित्रले प्रदर्शनका लागि हल नपाउने समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो । नेपाली चलचित्रको बजार, दर्शकको रुचि र विदेशी चलचित्रको प्रभावबारे समेत अध्ययन गर्नुपर्ने उनले बताइन् ।

सांसद गणेश पौडेलले चलचित्र क्षेत्रका विद्यमान समस्या पहिचान गरी कानुनी सुधार गर्नुपर्ने बताए । भाषा, संस्कृति र पर्यटनलाई अन्तरराष्ट्रिय समुदायसम्म पुर्‍याउन चलचित्र महत्त्वपूर्ण माध्यम भएकाले चेतनामूलक तथा शिक्षामूलक चलचित्रको प्रवर्द्धन र व्यावसायिक सफलताका लागि आवश्यक व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

सांसद डा. अच्युतम लामिछानेले चलचित्रकर्मीको पारिश्रमिक, सामाजिक सुरक्षा, कार्यस्थलमा हुने शारीरिक तथा मानसिक हिंसा, दुर्घटना र बिमासम्बन्धी विषय कानुनमा समेटिनुपर्ने बताए । चलचित्र क्षेत्रमा श्रमिकको अधिकार र सुरक्षाका विषय उठे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे ।

सांसद पुकार बमले चलचित्र क्षेत्रलाई उद्योग र पर्यटनसँगै संस्कार तथा संस्कृतिका रूपमा पनि हेर्नुपर्ने बताए । नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजारमा उपस्थिति कमजोर रहेको उल्लेख गर्दै उनले यसको प्रवर्द्धन र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे ।

सांसद प्रभा ढकालले चलचित्र पाइरेसी बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमनका लागि विधेयकमा प्रभावकारी व्यवस्था गर्नुपर्ने बताइन् ।

बक्स अफिसदेखि श्रमिकको सुरक्षासम्म

विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिका सुदृढ गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली अनिवार्य र व्यवस्थित गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।

चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार र विदेशी लगानी आकर्षित गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने र नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पुर्‍याउने लक्ष्य विधेयकले राखेको छ ।

नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३ र राष्ट्रिय चलचित्र नीति, २०७१ लाई आधार बनाएर विधेयक तयार गरिएको जनाइएको छ ।

नयाँ ऐन कार्यान्वयनमा आएपछि चलचित्र निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित हुनुका साथै आर्थिक कारोबारमा पारदर्शिता र जवाफदेहिता बढ्ने तथा नेपाली चलचित्रलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सिर्जनशील, सांस्कृतिक र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *