देश

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन महामन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन साहको भारत भ्रमण सफल र फलदायी होस् भन्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकताका साथ प्रस्तुत गर्न आग्रह गरेका छन् ।

भारत भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरेको विषयमा असहमति रहे पनि अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा आन्तरिक मतभेदभन्दा राष्ट्रिय हित सर्वोपरि हुने पौडेलले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले प्रधानमन्त्रीको कार्यशैली र आन्तरिक राजनीतिका विभिन्न विषयमा गम्भीर असहमति हुन सक्ने उल्लेख गरेका छन् । उनले महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि सम्बन्धित निकाय तथा राजनीतिक दलहरूसँग परामर्श नगरी अघि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन् ।

यद्यपि, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुँदा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितका पक्षमा उभिनु साझा दायित्व भएको उनले बताएका छन् ।

भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर विगतदेखि निरन्तर उठाइँदै आएका द्विपक्षीय विषय स्पष्ट अडान र उच्च प्राथमिकताका साथ प्रस्तुत हुने विश्वास पनि पौडेलले व्यक्त गरेका छन् ।

नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको प्रगाढ सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानको आधारमा थप सुदृढ गर्दै नेपालको हितमा ठोस उपलब्धि हासिल गर्न प्रधानमन्त्रीको भ्रमण सफल होस् भन्दै उनले शुभकामना दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *