देश

 फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

धनगढी । नेपाली क्रिकेटको महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

धनगढीमा निर्माण गर्न लागिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम परियोजनाअन्तर्गत रङ्गशाला निर्माणका लागि शुक्रबार राति बोलपत्र आह्वान गरिएको हो ।

नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत बोलपत्र आह्वान गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा करिब ३८ दशमलव पाँच बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ ।

ठेक्का आह्वानसँगै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माण अभियानका नेतृत्वकर्ता सुवास शाहीले यसलाई वर्षौँदेखिको सपना, सङ्घर्ष र धैर्यको ऐतिहासिक उपलब्धि बताउनुभएको छ ।

उहाँले यो उपलब्धि कुनै व्यक्ति वा समूहको मात्र नभई फाप्लालाई आफ्नो सपना ठान्ने सबै नेपालीको साझा विजय भएको उल्लेख गर्नुभएको छ । अब फाप्ला निर्माणको सपना कल्पनामा मात्र सीमित नरही कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँको भनाइ छ ।

एक दशक लामो ‘ड्रिम फाप्ला’ अभियान

धनगढीमा विसं २०६६ देखि क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनका लागि भएका प्रयासले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानलाई जन्म दिएका हुन् ।

क्रिकेट अभियन्ता सुवास शाहीको नेतृत्वमा एसपीए कप, धनगढी क्रिकेट लिग (डीसीएल) तथा धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिता सञ्चालन भएपछि धनगढीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो ।

२०७१ सालमा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान गरिएको थियो । त्यसपछि २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो ।

आर्थिक वर्ष २०७२/७३ को सङ्घीय बजेटमा समेत फाप्ला रङ्गशाला निर्माणको विषय समेटिएको थियो । तर जग्गा प्राप्ति तथा अन्य प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा आयोजना लामो समयसम्म अगाडि बढ्न सकेन ।

२०७८ माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि २०७९ वैशाख २६ गते नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भएको थियो । सोही वर्ष आयोजनाका लागि जग्गा प्राप्ति भएको थियो भने जेठ २३ गते अभियानका नेतृत्वकर्ता सुवास शाही विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

विकास समिति गठन भएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा आयोजना राष्ट्रिय आयोजना बैंकमा समावेश गर्नेलगायतका प्रक्रिया अघि बढाइएका थिए ।

यसैबीच, सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत फाप्लामै कम्तीमा दुई हजार दर्शक क्षमताको इन्डोर रङ्गशाला निर्माण गर्ने योजना पनि समेटेको छ ।

क्रिकेटको सहरदेखि खेल पर्यटनको गन्तव्यसम्म

नेपाली क्रिकेटको व्यावसायिक विकासमा धनगढीको विशिष्ट योगदान रहँदै आएको छ । खेलाडीको लिलामीमा आधारित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अभ्यासदेखि क्रिकेटलाई व्यावसायिक मनोरञ्जन र आर्थिक गतिविधिसँग जोड्ने प्रयासमा धनगढीले अग्रणी भूमिका खेलेको छ ।

सन् २०१७ मा सुरु भएको धनगढी प्रिमियर लिगको तेस्रो संस्करण सन् २०१९ मा फाप्ला क्रिकेट मैदानमा आयोजना गरिएको थियो । यस्ता प्रतियोगिताले धनगढीको ‘क्रिकेटको सहर’ भन्ने पहिचानलाई थप स्थापित गरेका थिए ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण भएपछि धनगढीको यो पहिचान थप संस्थागत हुने अपेक्षा गरिएको छ ।

रङ्गशाला निर्माण सम्पन्न भई आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएमा नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडी प्रशिक्षण, खेल शिविर र अन्य व्यावसायिक खेल गतिविधि सञ्चालन गर्न सकिनेछ ।

यसले खेलकुदको विकाससँगै होटल तथा रेस्टुरेन्ट व्यवसाय, यातायात, स्थानीय व्यापार, रोजगारी र पर्यटन क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सक्ने सम्भावना छ ।

भारतसँगको भौगोलिक निकटता र सुदूरपश्चिमका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यलाई क्रिकेटसँग जोड्न सके धनगढीलाई खेल पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्न सकिनेछ ।

खप्तड, शुक्लाफाँटा, अपि, सैपाल, बडिमालिका, रामारोशन र घोडाघोडीजस्ता पर्यटकीय गन्तव्यलाई खेल पर्यटनसँग जोड्न सके सुदूरपश्चिममा पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ ।

फाप्ला परियोजनाको महत्त्व क्रिकेट रङ्गशाला निर्माणमा मात्र सीमित छैन । यो सुदूरपश्चिमको खेल प्रतिभा विकास, व्यावसायिक क्रिकेट, एनपीएलको होम एन्ड अवे अवधारणा, अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सम्भावना, पर्यटन प्रवर्द्धन र आर्थिक विकाससँग जोडिएको दीर्घकालीन आयोजना हो ।

धनगढीमै विश्वकप क्रिकेट आयोजना गर्ने सपना बोकेको फाप्ला परियोजनाका लागि ठेक्का आह्वान हुनु त्यस दिशातर्फको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *