काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा कार्यरत रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको कसुरमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार, फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा २०७८ साल वैशाख १ गतेदेखि कार्यरत गिरीले पेस गरेको ३ वर्षे बि.एड. तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण हुँदा अन्य व्यक्तिको नाममा रहेको खुल्न आएको छ।
गिरीले आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद र ओहदा प्राप्त गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको कसुरमा कैद र जरिवाना सजायको माग दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।




