दाङ । उद्योग वाणिज्य संघ दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन् । नागरिकले तिरेको करबाटै मुलुकको विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ ।
पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कर तिर्ने संस्कृतिको विकास गर्न सबै नागरिक जिम्मेवार बन्नुपर्ने बताए ।
कर दिवसका अवसरमा कार्यालयले करसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रभातफेरि आयोजना गरेको थियो । तुलसीपुरस्थित त्रिसिद्देश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरिले बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउँदै कर तिर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कर अधिकृत उपेन्द्र पुनले कर प्रशासन करदाताको हित र सुविधालाई ध्यानमा राखेर काम गर्न प्रतिबद्ध रहेको बताए । उनले राज्यको विकासका लागि कर राजस्व महत्वपूर्ण स्रोत भएकाले उद्योगी, व्यवसायी तथा व्यापारीलाई सरकारले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न आग्रह गरे ।
कार्यालयले आगामी मङ्सिर ७ गते विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सप्ताह समापन गर्ने जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरको कार्यक्षेत्रमा लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा र प्युठान तथा कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम पर्दछन् । यस कार्यालयमा करिब एक लाख करदाता आबद्ध रहेको जनाइएको छ ।




