काठमाडौँ ।परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्।
टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने छन्।
यसका अतिरिक्त उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सञ्जय आचार्य, कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहित नौ जना अधिकारीहरू सरकारी टोलीमा सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ।




