काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये थप दुई जना पक्राउ परेका छन् । प्रहरीले २९ वर्षीय कालीप्रसाद रोकाया र १९ वर्षीय कपिल परियारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरू त्रिपुरासुन्दरी नगरपालिका–४ मा कमला बुढाको घरमा लुकेर बसेको अवस्थामा फेला परेका हुन् । यसअघि सोमबार रुकुम पश्चिमको आठबिस नगरपालिका–६ बाट ३२ वर्षीय रामबहादुर विक र २८ वर्षीय रेशम राना पक्राउ परेका थिए ।
गत शनिबार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका आठ जना कैदी कारागारभित्र सुरुङ खनेर फरार भएका थिए । उनीहरूमध्ये हालसम्म चार जना पक्राउ परिसकेका छन् । फरार रहेका अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




