काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गरी संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटका क्रममा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय तथा सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराएका थिए ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथि धरपकडलगायत सरकारका विवादित विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । कांग्रेसको अगुवाइमा बसेको विपक्षी दलहरूको बैठकले पनि संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो ।
सभामुखसँगको भेटपछि आङ्देम्बेले संसद्बाहिर उठिरहेका संवेदनशील विषयको समाधान संसद्भित्रै खोज्नुपर्ने धारणा राखेको बताए ।
‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल वा भुमरी जस्तो बनाउनुभन्दा संसद्भित्रै छलफल गराउनुपर्छ र संसद्को बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ उनले भने ।
आङ्देम्बेले प्रेसमाथि भइरहेको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा प्रधानमन्त्रीसमेत जोडिएका विषयमा संसद्मा छलफल आवश्यक रहेको बताए ।




