देश

छठपछि सरकारविरुद्ध सडकमा उत्रिने मधेसवादी दलको तयारी

काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलहरूले छठ पर्वपछि सरकारविरुद्ध आन्दोलन चर्काउने तयारी थालेका छन् । संविधानको रक्षा, उत्पीडित समुदायको पहिचान र अधिकार तथा सामाजिक न्यायका मुद्दा उठाउँदै आन्दोलनमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी अघि बढाइएको छ । मोर्चाले आगामी मंसिर १० गते काठमाडौंको खुलामञ्चबाट आन्दोलन घोषणा गर्ने योजना बनाएको छ । त्यसअघि दलहरूले संगठन सुदृढीकरण, आन्तरिक छलफल र जनतासँग अन्तरक्रियालाई तीव्रता दिने तयारी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार मोर्चामा आबद्ध दलहरू आन्दोलनको तयारीमा जुटेका छन् । उनका अनुसार छठपछि राजनीतिक वातावरण र परिस्थितिको समीक्षा गर्दै आन्दोलनका कार्यक्रम अघि बढाइनेछ ।

अग्रगामी मोर्चामा आबद्ध दलहरूले सामूहिक रूपमा मात्रै नभई आ–आफ्नो संगठनमार्फत पनि तयारी गरिरहेका छन् । मधेसमा सक्रिय अन्य राजनीतिक दल तथा संगठनले समेत छठपछि संघर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको बताइएको छ ।

संगठन विस्तार र जनमत संकलनमा दलहरू

जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले अहिले पार्टी संगठनको समायोजन र जनतासँग अन्तरक्रियालाई प्राथमिकता दिइएको बताएका छन् ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएपछि दुवै संगठनको समायोजन प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले जनतासँग छलफल गर्ने, सरकारका कामकारबाहीबारे जानकारी गराउने र नागरिकका सुझाव संकलन गर्ने काम भइरहेको बताए ।

उनका अनुसार यी गतिविधि छठ पर्वसम्म जारी रहनेछन् । त्यसपछि प्राप्त सुझाव र राजनीतिक परिस्थितिका आधारमा संघर्षका कार्यक्रम अघि बढाइनेछ ।

झाले नयाँ पार्टी र जेनजी पुस्ताको नाममा जनतालाई भ्रममा पार्ने काम भइरहेको आरोपसमेत लगाए । दसैँ र तिहारको अवधिमा सरकारका कामकारबाहीबारे जनतालाई जानकारी गराउने र त्यसपछि आन्दोलनको तयारीलाई थप व्यवस्थित बनाउने उनीहरूको योजना छ ।

जनमत पार्टी पनि आन्दोलनको तयारीमा

जनमत पार्टीका महासचिव सञ्जय यादवले पनि छठपछि आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले दलहरूले आ–आफ्नो संगठन सुदृढ बनाउने र जनताबाट राय–सुझाव संकलन गर्ने काम गरिरहेका छन् । चाडपर्वका बेला नागरिकसँग छलफल गरेर उनीहरूका अपेक्षा र गुनासा बुझ्ने तथा त्यसपछि मोर्चागत कार्यक्रमसहित जनतामाझ जाने तयारी छ ।

यादवका अनुसार दसैँपछि मोर्चाले आफ्ना कार्यक्रम सार्वजनिक गर्दै सरकारका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउनेछ । त्यसपछि छठपछि मोर्चाको बैठक बसेर आन्दोलनको स्वरूप, कार्यदिशा र कार्यक्रम तय गर्ने योजना छ ।

उनले मंसिर १० गते खुलामञ्चबाट आन्दोलन घोषणा गर्ने तयारी भइरहेको पनि बताए । आन्दोलनमा युवा पुस्ता, विशेषगरी जेनजी पुस्तालाई सहभागी गराउने लक्ष्य राखिएको उनको भनाइ छ ।

राजेन्द्र महतो र हुँकार मधेस पनि संघर्षको तयारीमा

अग्रगामी मोर्चाबाहिर रहेका मधेसकेन्द्रित राजनीतिक शक्तिहरूले पनि छठपछि संघर्षका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले आन्दोलनका कार्यक्रमबारे तयारी थालेको बताइएको छ । त्यस्तै, रामकुमार शर्मा नेतृत्वको हुँकार मधेसले पनि छठपछि संघर्षमा जाने गरी संगठनात्मक तयारी गरिरहेको छ ।

यी दलहरूले दसैँ र तिहारको बीचमा संगठन विस्तार, आन्तरिक छलफल तथा जनतासँग संवाद गर्ने र त्यसपछि राजनीतिक परिस्थितिअनुसार संघर्षका कार्यक्रम अघि बढाउने योजना बनाएका छन् ।

नौ दलको मोर्चा, संविधान र अधिकार मुख्य मुद्दा

अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा आबद्ध छन् ।

मोर्चामा रहेका दलहरूले संविधानले सुनिश्चित गरेका समानता, समावेशिता र सामाजिक न्यायका अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको विषयलाई आन्दोलनको मुख्य आधार बनाएका छन् ।

मधेसी, आदिवासी जनजाति, दलित तथा अन्य उत्पीडित र सीमान्तकृत समुदायको पहिचान, प्रतिनिधित्व, समान अवसर र राज्यका स्रोतसाधनमा पहुँच सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

नेताहरूले संविधानको रक्षा र अधिकार प्राप्तिको मुद्दालाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउने बताएका छन् । तर आन्दोलनको विस्तृत स्वरूप, कार्यक्रमको समयतालिका र सहभागी दलहरूबीचको कार्यगत समन्वयबारे अन्तिम निर्णय हुन बाँकी छ ।

छठपछि मधेसकेन्द्रित दलहरूले आन्दोलनलाई कुन स्वरूपमा अघि बढाउँछन् र मंसिर १० गते खुलामञ्चबाट घोषणा गर्ने योजना कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय आगामी राजनीतिक गतिविधिले स्पष्ट पार्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *