देश

मुगुमा सुक्खा पहिरोको कहर : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

काठमाडौं । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्। घटनामा सहचालक घाइते भएका छन्। मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे पहिरो खसेको हो। पहिरोले बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित २४ वर्षीय चालक विमल बागलाई पुरेको प्रहरीले जनाएको छ। बागको स्थायी ठेगाना बझाङ भए पनि पूरा विवरण खुल्न सकेको छैन।

एक्स्काभेटरमा सवार सहचालक २२ वर्षीय विनय मल्ल भने घाइते भएका छन्। मुगुको सोरु गाउँपालिका–१ निवासी मल्ललाई पहिरोबाट खसेको ढुङ्गाले लाग्दा हात र खुट्टामा चोट लागेको हो। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएका चालक बागको उद्धारका लागि १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको नेतृत्वमा सात जना प्रहरी उद्धारमा जुटेका छन्।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिममा पर्छ।
पहिरोमा पुरिएका चालकको अवस्था र उद्धारको प्रगतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *