देश

पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि

काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले आफ्नो कामलाई व्यवस्थित बनाउने १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि पारित गर्दै विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरेको हो ।

उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमित समयका बीच प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतीपूर्ण रहेको बताए । उनका अनुसार उपसमितिको कार्यअवधि दुई महिना अर्थात् मंसिर २० गतेसम्म तोकिएको छ । दशैँअघि पहिलो बैठक बसेको उपसमितिको अर्को बैठक भने चाडपर्वपछि मात्रै बस्नेछ ।

‘आज उपसमितिको पहिलो बैठक बसेको हो । बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरेको छ । सबै सदस्यले त्यसमा हस्ताक्षर गर्नुभएको छ,’ झाले भने, ‘विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको छ ।’

प्राप्त कागजातको गोपनीयता कायम राख्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उनले बताए । कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको उनको भनाइ छ ।

झाका अनुसार उपसमितिको काममा मुख्य चुनौती कार्यविधि नभई चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण बन्ने देखिएको छ ।

‘कार्यअवधि सीमित छ । चाडपर्वका कारण लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हुने भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतीपूर्ण हुनेछ,’ उनले भने ।

उपसमितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसँग सम्बन्धित प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गरी आवश्यक निष्कर्ष तयार गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *