देश

इन्टरनेट मतदानको तयारीमा साइबर सुरक्षा र प्राविधिक जनशक्ति पहिचानलाई प्राथमिकता

काठमाडौं । नेपालमा इन्टरनेटमार्फत मतदान प्रणाली लागू गर्ने तयारी अघि बढाउँदा प्रविधि, साइबर सुरक्षा र आवश्यक प्राविधिक जनशक्तिको क्षमता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

निर्वाचन आयोगले आयोजना गरेको ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तर्क्रिया’ कार्यक्रममा सहभागी अधिकारी तथा विज्ञहरूले इन्टरनेट मतदानलाई विश्वसनीय र सुरक्षित बनाउन प्रविधिगत तथा संस्थागत तयारी आवश्यक रहेको बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले इन्टरनेट मतदान प्रणाली सञ्चालनका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति र संस्थागत क्षमता विकास गर्नुपर्ने बताए । उनले मतदान प्रणालीको विश्वसनीयता कायम राख्न साइबर सुरक्षा मजबुत बनाउनुपर्ने तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।

निर्वाचन आयुक्त डा। राजीव सुब्बाले इन्टरनेट मतदान प्रणाली आयोग एक्लैले कार्यान्वयन गर्न सक्ने विषय नभएको बताए । उनका अनुसार यसका लागि सरकारका विभिन्न निकायमा रहेको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप, जनशक्ति र प्राविधिक क्षमताको पहिचान गर्न आवश्यक छ ।

उनले त्यसका लागि ‘स्किल म्यापिङ’ गर्नुपर्ने धारणा राखे । इन्टरनेट मतदानमा डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, तथ्यांक आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार निर्माण तथा सञ्चालनलगायतका धेरै पक्ष जोडिने भएकाले सम्बन्धित क्षेत्रमा उपलब्ध विशेषज्ञता पहिचान गर्नुपर्ने उनको भनाइ थियो । ‘स्किल म्यापिङ’मार्फत आवश्यक प्राविधिक जनशक्ति र विशेषज्ञताको पहिचान गरी राज्यका विभिन्न निकायमा उपलब्ध क्षमतालाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने आयोगले जनाएको छ ।

इन्टरनेट मतदान प्रणालीलाई व्यवहारमा ल्याउनुअघि प्राविधिक पूर्वाधारसँगै मतदाताको पहिचान र प्रमाणीकरण, तथ्यांकको सुरक्षा तथा प्रणालीको विश्वसनीयता सुनिश्चित गर्नु प्रमुख चुनौतीका रूपमा देखिएका छन् । त्यसैले आयोगले प्रविधिको विकाससँगै संस्थागत क्षमता र अन्तरनिकाय समन्वयलाई पनि समान प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

कार्यक्रममा नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा र बेलायतबाट सहभागी विज्ञहरूले सम्बन्धित मुलुकमा प्रयोग भएका इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा व्यवस्था र सञ्चालन प्रक्रियाबारे प्रस्तुतीकरण गरेका थिए । विदेशका अनुभवबाट सिक्दै नेपालको आवश्यकता र परिस्थितिअनुकूल प्रणाली विकास गर्न सकिने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *