देश

सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको हो।

अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिए।

सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन्।

त्यसैगरी, अध्यादेश प्रतिस्थापनसम्बन्धी छ वटा विधेयक पारित भई प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि पारित भई प्रमाणीकरण भएका छन्।

प्रतिनिधि सभामा १० भन्दा बढी विधेयक विभिन्न समितिमा विभिन्न चरणमा छलफल तथा विचाराधीन अवस्थामा रहेका छन्।

चालु अधिवेशनका क्रममा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको थियो।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तरमा सहभागिता जनाउनुभएको थियो। परराष्ट्रमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएको थियो। त्यसैगरी, पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रश्नोत्तर भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *