देश

लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

लमजुङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मर्स्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार बेँसीसहर नगर कार्यसमितिको सभापतिमा पूर्णबहादुर थापा (अर्जुन), सुन्दरबजार नगर कार्यसमितिको सभापतिमा उत्तम गुरुङ, मर्स्याङ्दी गाउँ कार्यसमितिको सभापतिमा लोकनाथ घिमिरे, दूधपोखरी गाउँ कार्यसमितिको सभापतिमा कमलप्रसाद धिताल, दोर्दी गाउँ कार्यसमितिको सभापतिमा लालबहादुर गुरुङ र क्व्होलासोथर गाउँ कार्यसमितिको सभापतिमा राजु गुरुङ चयन भएका छन् ।

बाँकी मध्यनेपाल र राइनास नगरपालिकामा भने सभापतिका आकाङ्क्षीबीच सहमति जुट्न नसक्दा नेतृत्व चयन हुन नसकेको सचिव अधिकारीले बताए ।

उनका अनुसार ती पालिकामा सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ । सहमति जुटाउन केही समय लागेमा असोज १० गतेपछि पनि अधिवेशन प्रक्रिया अघि बढ्न सक्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *