काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खस्दा सवारी आवागमन एकतर्फी बनेको छ ।
बिहीबार बिहान बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले पनि सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ ।
यसअघि भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म ठप्प बनेको थियो ।
पछि नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि मात्रै यातायात पुनः सञ्चालनमा ल्याइएको थियो ।




