रसुवा। ‘थ्रिफेज’ क्षमताको विद्युत् सेवा उपलब्ध नहुँदा रसुवाको दक्षिणी भेगको जनजीवन प्रभावित भएको छ ।
भदौ १० गतेको बाढीले जिल्लाको विद्युत् संरचनामा क्षति पुर्याएपछि तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गरिएको विद्युत्को क्षमता पर्याप्त नहुँदा स्थानीयवासी प्रभावित भएका हुन् ।
हाल आपूर्ति भइरहेको विद्युत्बाट घरमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न मात्र सहज भए पनि कुटानी–पिसानी मिल सञ्चालन गर्न नसकिएको स्थानीयवासीले बताएका छन् । गाउँघरमा प्रयोग हुँदै आएका ढिकी, जाँतो लगायतका परम्परागत साधनको प्रयोगसमेत घट्दै गएकाले विशेषगरी कृषि पेसामा आबद्ध परिवारलाई समस्या भएको उत्तरगया गाउँपालिका–५ का पूर्ववडाध्यक्ष ईश्वर थापाले बताए ।
उनका अनुसार स्थानीयवासीसँग आफ्नै घरमा धान, मकै लगायतका खाद्यान्न उत्पादन भए पनि कुटानी–पिसानी गर्न नसक्दा समस्या भएको छ ।
“बाढी प्रभावित जनतालाई प्राथमिकता दिँदै आएको वर्तमान सरकारबाट यथासक्य छिटो थ्रिफेज विद्युत्को व्यवस्था हुने विश्वास लिएका छौँ,” थापाले भने, “स्थानीय मिल सञ्चालन हुन सके आफ्नै उत्पादनबाट भातभान्सा गर्न सकिन्थ्यो । सडक र पुल बगेसँगै अन्यत्र जान सकिने अवस्था छैन । मिल चल्ने गरी विद्युत् व्यवस्था भइदिए हुन्थ्यो ।”
भदौ १० गतेको बाढीले रसुवाका जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले तत्काल वैकल्पिक व्यवस्थामार्फत जिल्लामा विद्युत् आपूर्ति गरेको थियो । आपत्कालीन व्यवस्थाअन्तर्गत सामान्य बत्ती बाल्न र मोबाइल चार्ज गर्न सक्ने गरी काठमाडौँको बालाजुदेखि छहरे, चोगदे, कुवापानी हुँदै रसुवासम्म विद्युत् आपूर्ति गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन व्यवस्थालाई क्रमशः सुधार गर्दै नियमित विद्युत् सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
विद्युत् प्राधिकरण धुञ्चे शाखाका प्रमुख गुन्जमान लामाले थ्रिफेज लाइन जडान गरिए पनि विद्युत् क्षमता कम भएकाले साङ्जेनतर्फबाट थप लाइन तानेर विद्युत्को क्षमता बढाउने काम भइरहेको बताए ।
बिहान र बेलुका विद्युत् भार स्वाभाविक रूपमा बढी हुने भएकाले दिउँसोको समयमा कुटानी–पिसानीका काम गर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरे । बाढी प्रभावितलाई विद्युत् सेवा सहज बनाउन सक्दो प्रयास भइरहेको उनको भनाइ छ ।
स्थानीयवासीका अनुसार राहत सामग्रीसँगै विद्युत् सेवा नियमित र पर्याप्त बनाउन सके बाढी प्रभावित परिवारको दैनिकी सहज हुनेछ । थ्रिफेज विद्युत् सेवा सञ्चालनमा आए धान कुट्ने, पिठो पिस्ने तथा अन्य कुटानी–पिसानीका काम स्थानीयस्तरमै गर्न सकिने भएकाले घरबार गुमाएका बाहेकका परिवारको परनिर्भरता क्रमशः घट्ने अपेक्षा गरिएको छ ।




