देश

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हबका रूपमा विकास गर्नु आफ्नो प्राथमिक दायित्व रहेको बताएका छन् ।

भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बुधबार बोल्दै मुख्यमन्त्री थापाले जिल्लाको स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिने बताए ।

उनले भक्तपुरवासीलाई उपचारका लागि काठमाडौँ वा धुलिखेल जानुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालसँग समन्वय गरिने बताए ।

“भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु,” उनले भने, “भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल–कोरिया मैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताललगायत निजी अस्पतालसँग दुई–तीन महिनाभित्र समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने योजना छ ।”

मुख्यमन्त्री थापाले भक्तपुरमा सबै तहको अध्ययन गर्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्नु आफ्नो कर्तव्य भएको बताए ।

पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको उल्लेख गर्दै उनले भक्तपुरमा पर्यटक गाइड तालिम सञ्चालन गर्ने बताए । भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक र मध्यपुरथिमिलगायतका क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गरी जिल्लालाई पर्यटकीय हब बनाउने योजना रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *