काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल–इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।
पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले ११ अगस्टमा लिस्बननजिकै समुद्र किनारमा रहेको कास्काइसमा स्थानीय विधिअनुसार विवाह गरेका हुन्। विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी थिए।
रोनाल्डोले इन्स्टाग्राममा विवाहको औँठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको केही घण्टामै त्यसमा करोडौँ लाइक आएको बताइएको छ।
उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्ची स्टोरमा भएको थियो, जहाँ जर्जिना काम गर्थिन् भने रोनाल्डो रियल म्याड्रिडबाट खेलिरहेका थिए।
दुवैले गत वर्ष ११ अगस्टमा इन्गेजमेन्टको घोषणा गरेका थिए। करिब १० वर्षदेखि चर्चामा रहेको उनीहरूको सम्बन्ध अन्ततः विवाहमा परिणत भएको हो।




