विश्व

जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिज्म’ रोक्न ट्रम्पका दुई आदेश

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

पहिलो आदेशले केही गैर-अमेरिकी अभिभावकका अमेरिकामा जन्मिएका सन्तानलाई स्वतः नागरिकता नदिने व्यवस्था गर्न खोजेको छ।

नयाँ आदेशअनुसार, दुवै अभिभावक गैर-अमेरिकी नागरिक भएको अवस्थामा, यदि उनीहरूमध्ये एक जना विदेशी आतंकवादी समूहको सदस्य भए, विदेशी सरकारको कर्मचारी भए, ठगी वा जालसाजी गरेर अमेरिकी नागरिकता लिन खोजेको भए वा संघीय कानुनअनुसार जन्मसिद्ध नागरिकता लागू नहुने अमेरिकी भूभागमा बसोबास गरिरहेको भए त्यस्ता अभिभावकबाट अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

दोस्रोले ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिक बनाउन गर्भवती महिला पर्यटकका रूपमा अमेरिका आउने अभ्यास रोक्ने लक्ष्य राखेको छ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टीफन मिलरले धेरै मानिस पर्यटकको बहाना बनाएर अमेरिका प्रवेश गर्ने तर वास्तविक उद्देश्य बच्चालाई अमेरिकी नागरिक बनाउने रहेको दाबी गरे।

उनका अनुसार, ती बालबालिकाले पछि अमेरिकी नागरिकका रूपमा सामाजिक सुविधा, मतदान अधिकार तथा अन्य कानुनी अधिकार प्राप्त गर्ने भएकाले यस्तो अभ्यास रोक्न आवश्यक छ।

ट्रम्पले आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले रोकेकोप्रति असन्तुष्टि जनाउँदै नयाँ आदेश आवश्यक भएको बताएका छन्। यसअघि पनि उनले १४औँ संशोधनअन्तर्गतको जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *