काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र सर्वसाधारणले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
बिहीबार राहदानी विभागअगाडि पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद भएको थियो। त्यसलगत्तै नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
मृत्युपछि आक्रोशित आफन्तहरूले घटनामा राज्यको लापरबाही रहेको आरोप लगाएका छन्। उनीहरूले गम्भीर जलनका बिरामीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजानुपर्नेमा वीर अस्पतालमा भर्ना गरिएकै कारण उपचार प्रभावकारी हुन नसकेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।




