काठमाडौं । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार खानेपानीमन्त्री सुनिल लम्सालका विशिष्ट श्रेणीका सल्लाहकारमा खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन विज्ञ डा. सञ्जीव बिक्रम राणा नियुक्त भएका छन्।
खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. राणाले यसअघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकका रूपमा नेतृत्व प्रदान गरेका थिए। उनको कार्यकालमा संस्थागत व्यवस्थापन सुदृढीकरण, खानेपानी सेवाको गुणस्तर सुधार तथा सरसफाइ र ढल व्यवस्थापनसम्बन्धी नीतिगत सुधारमा उल्लेखनीय योगदान रहेको मानिन्छ।
मन्त्रालयका अनुसार खानेपानी क्षेत्रका प्राविधिक, नीतिगत तथा व्यवस्थापकीय विषयमा डा. राणाको अनुभवले मन्त्रालयको नीति निर्माण, सेवा विस्तार र सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी सुरक्षित खानेपानीको पहुँच विस्तार, सरसफाइ प्रणालीको सुदृढीकरण, ढल व्यवस्थापनको दीर्घकालीन योजना निर्माण तथा संस्थागत क्षमता अभिवृद्धिमा उनको विज्ञता उपयोगी हुने विश्वास मन्त्रालयले गरेको छ।
मन्त्रालयले आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यका साथ अनुभवी विज्ञहरूको ज्ञान र अनुभवलाई नीति निर्माण तथा कार्यान्वयनमा प्राथमिकता दिँदै अघि बढ्ने जनाएको छ।




