काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी अन्तिम समयमा खारेज भएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण दिएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमार्फत साहले आफ्नो व्यक्तिगत विवरणमा यथार्थ तथ्य नउल्लेख गरेको र कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी रद्द गर्नुपरेको बताए।
उनका अनुसार साहविरुद्ध उजुरी परेपछि आयोगले सम्बन्धित निकायहरूसँग समन्वय गरी छानबिन गरेको थियो। सो क्रममा साह कालोसूचीमा रहेको पाइएको र उक्त अवस्थाका व्यक्तिलाई उम्मेदवार कायम राख्न कानुनले अनुमति नदिने आयोगको भनाइ छ।
भण्डारीले साहलाई आरोपबारे सफाइ दिने अवसर प्रदान गरिएको तर आफू कालोसूचीमा नरहेको प्रमाण पेश गर्न नसकेको जानकारी दिए। आयोगले पक्राउ परेका अन्य उम्मेदवारका हकमा पनि आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने जनाएको छ।




