काठमाडौं । युट्युबर रतन कार्कीलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको छ। निर्वाचनको मौन अवधि चलिरहेकै समयमा विभिन्न उम्मेदवारसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कार्कीले विभिन्न निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारहरूको भिडियो सामग्री तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। मौन अवधिमा यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले उनीमाथि अनुसन्धान अघि बढाइएको जनाइएको छ।
कार्की केही दिनअघि विदेशबाट नेपाल फर्किएका थिए। उनी विभिन्न राजनीतिक व्यक्तित्वसँगको भेटघाट र गतिविधिका कारण पनि चर्चामा आएका थिए।
यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत दिएको विवादास्पद अभिव्यक्तिका कारण आलोचना खेपेका थिए। प्रहरी स्रोतका अनुसार अघिल्ला घटनासम्बन्धी विषयमा समेत आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। मौन अवधिमा पोष्ट गरेको भिडियो हटाउन लगाएर प्रहीले घर पठाएको छ । मौन अवधिको समयमा भ्यूज बटुल्न चितवनका विभिन्न उम्मेदवारका भिडियो पोष्ट गरेका कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।




