देश

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिए ।

दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फबाट प्रजिअ पोखरेलसहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा र राष्ट्रिय अनुसन्धानका निर्देशक प्रकाश आचार्य सहभागी भएका थिए । त्यस्तै भारत महाराजगञ्ज जिल्लाका प्रमुख अधिकारी (डिएम) सन्तोषकुमार शर्मा र भारतीय प्रहरीका एसपी सोमेन्द्र मीना सहभागी थिए ।

निर्वाचनको समयमा सीमानाका बन्द गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको प्रजिअ पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने कार्यमा सघाउन भारतीय पक्षले समेत चासो देखाएको उनले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सम्पूर्ण सीमानाकाहरू यही फागनु १८ गते सोमबार राति १२ः०० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मका लागि सबै सीमानाका बन्द गरिएको प्रशासनले जनाएको छ ।

प्रजिअ पोखरेलका अनुसार मालवाहक सवारीसाधन र पर्यटक सवार सवारीसाधनसहित आवागमन हुने रुपन्देहीको मुख्य बेलहिया र साना सवारीसाधन आवतजावत गर्ने लुम्बिनी–कक्रहवालगायत सम्पूर्ण सीमानाका बन्द गरिएका हुन् । नाका बन्द गरेर कडाइ गरेपछि सीमा क्षेत्र सुनसान बनेका छन् । दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने रुपन्देहीका सबै नाका सुनसान भएका स्थानीय बताउँछन् ।

सीमा बन्द गरिएको अवधिमा ग्यास बुलेट र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स र नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकबाहेक अन्य सामानको ढुवानी तथा आवागमनमा रोक लगाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

मत गणनास्थलमा तार जाली

मत गणनास्थललाई सुरक्षित बनाउन रुपन्देहीका सबै मतगणनास्थललाई तार जालीले घेरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मत गणनास्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका गणनास्थलमा १० फिट अग्लो तार जालीले घेरिएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गरी मतगणनालाई व्यवस्थित गर्न लागिएको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिका–११ को कार्यालय देवीनगर, क्षेत्र नं ३ भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ । मतगणना परिसरमा सिसीटिभी क्यामरा पनि जडान गरिएको छ ।

मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मीबाहेक अरू कसैलाई तार जालीभित्र जान नपाउने र उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालालाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *