देश

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षा संवेदनशीलता बढेपछि सरकारले ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने तयारी

काठमाडौँ । द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले ती क्षेत्रमा १७ लाख २९ हजार २८८ नेपाली रहेको तथ्यांक सार्वजनिक गरेका हुन्।

उनका अनुसार इरानमा रहेका १० नेपालीमध्ये चार जना फर्किसकेका छन् भने हाल ६ जना मात्रै छन्। इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५ नेपाली रहेका छन्। यस्तै बहराइनमा २८ हजार, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख र साइप्रसमा १७ हजार नेपाली रहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।

बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरेको छ। तत्कालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगमार्फत ट्राभल एड्भाइजरी जारी गरी सतर्क रहन आग्रह गरिएको छ। साथै, त्यहाँका सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको छ।

खड्काका अनुसार घटनाक्रमबारे नियमित सूचना आदानप्रदान गर्न सम्बन्धित देशका राजदूत र नियोग प्रमुखहरूसँग डिजिटल माध्यमबाट समन्वय भइरहेको छ। आवश्यक परेमा छिमेकी मुलुकहरूसँग सहकार्य गरी नेपालीहरूको सुरक्षित उद्धारको विकल्पमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *