काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि सुनुवाइ हुन सकेन ।
बिहीबारको पेसी सूचीको पहिलो नम्बरमै रहेको रिटको सुनुवाइ सुरु हुनासाथ इजलासका न्यायाधीश बालकृष्ण ढकालले आफूले उक्त मुद्दा हेर्न नमिल्ने जानकारी गराएका थिए । यसअघि न्यायाधीश ढकालले रवि लामिछाने मुछिएको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै उनलाई धरौटीमा छाड्न नमिल्ने आदेश दिएका थिए ।
एउटै व्यक्ति तथा उस्तै प्रकृतिको मुद्दामा पूर्ववत् आदेश गरिसकेकाले न्यायको मान्य सिद्धान्तअनुसार न्यायाधीश ढकालले उक्त रिट हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको हो । न्यायाधीशले मुद्दा हेर्न अस्वीकार गरेसँगै अब अर्को इजलासमा सुनुवाइ हुनेछ । सो रिटको सुनुवाइ आगामी माघ ११ गतेका लागि तय गरिएको छ ।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार विपक्षी महान्यायाधिवक्ताको कार्यालय तथा प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । सोही आदेशबमोजिम आज संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर भएका सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।




