मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, आमजनता पार्टी र मङ्गोलियन नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दिनेमा नेकपा (एमाले)बाट इन्द्रधारा ढाडु विष्ट, नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ (टाइगर), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीय चन्द्र थकाली, उज्यालो नेपाल पार्टीबाट डा. सुरेन्द्र शेरचन, आमजनता पार्टीबाट अजय विक र मङ्गोलियन नेशनल अर्गनाइजेसन पार्टीबाट यमबहादुर गुरुङ रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना कर्मचारीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।




