देश

तडकभडक निषेध, नियममै रहेर मनोनयन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा जुलुस, बाजागाजा तथा अन्य देखावटी गतिविधि नगर्न सबै दल र उम्मेदवारलाई कडा निर्देशन दिएको छ। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन र निर्वाचन आचारसंहिताले यस्ता गतिविधि स्पष्ट रूपमा रोक लगाएको भन्दै उल्लङ्घन भए कारबाही हुने संकेत गरेका छन्।

सोमबार आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयुक्त भण्डारीले मनोनयन प्रक्रिया शान्त, व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिए। उनले नियमविपरीतका क्रियाकलापले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने चेतावनी पनि दिए।

“मनोनयन दर्ता गर्न जाँदा तडकभडक, बाजागाजा र अनावश्यक प्रदर्शन गर्नु कानुनले निषेध गरेको छ,” उनले भने, “सबै उम्मेदवार र दलले आचारसंहिताको पालना गर्दै जिम्मेवार ढंगले मनोनयनमा सहभागी हुनुपर्छ।”

आयुक्त भण्डारीका अनुसार निर्वाचन आयोग स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन गराउन दृढ छ। आचारसंहिताको कडाइका साथ पालना भएमा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै नेपाली निर्वाचनप्रति विश्वास बढ्ने उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *