काठमाडौं। चितवन जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ की नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि इन्द्रमाया लामाको निवासमा भएको निर्मम हत्या घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ। रत्ननगर नगरपालिका वडा नं. ४ स्थित लामाको घरमा गत पौष २६ गते अज्ञात समूह प्रवेश गरी उनकी ६८ वर्षीया आमा सुकमाया देवी तामाङको हत्या गरिएको थियो। घटनामा घरबाट गरगहना र नगद रकम समेत लुटिएको जनाइएको छ।
नेपाली कांग्रेसले उक्त घटनाको यथार्थ छानबिन गरी संलग्न दोषीलाई कानुनको दायरामा ल्याउँदै कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। पार्टीले यस किसिमका आपराधिक घटनाले समाजमा भय र असुरक्षा फैलाउने उल्लेख गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
पार्टीले दिवंगत सुकमाया देवी तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति पार्टीको गहिरो दुःख र चिन्ता प्रकट गरिएको छ।





