देश

नागरिक दैनिकमा श्रम शोषणको आरोप: पत्रकारहरू महिनौँदेखि तलब र सुविधाबाट वञ्चित

काठमाडौं – नेपाल रिपब्लिक मिडिया लिमिटेडद्वारा प्रकाशित नागरिक दैनिक ले श्रमजीवी पत्रकारहरूलाई लामो समयदेखि तलब तथा कानुनले तोकेका सेवा–सुविधा नदिएको आरोप लागेको छ। पत्रकारहरूले आफूहरू चरम श्रम शोषणको सिकार बनेको र महिनौँदेखि पारिश्रमिक नपाएर काम गर्न बाध्य भएको बताएका छन्।

पत्रकारहरूका अनुसार श्रमजीवी पत्रकार ऐनले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसमेत नदिई नागरिक व्यवस्थापनले कोभिड–१९ को बहाना बनाउँदै ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरेको थियो। उनीहरूले कुल ४३ महिनाको पारिश्रमिक कट्टा गरिएको दाबी गरेका छन्।

त्यसैगरी, चाडपर्व खर्च, औषधोपचार, सामाजिक सुरक्षा, उपदान जस्ता वैधानिक सुविधासमेत उपलब्ध नगराइएको उनीहरूको गुनासो छ। श्रम शोषणको विरोधमा आवाज उठाएका पत्रकारहरूलाई जबरजस्ती निष्कासन गरिएको आरोप पनि लगाइएको छ।

एक पीडित पत्रकारले भने, “लामो समयदेखि चरम श्रम शोषण भइरहेको छ। समयमा कहिल्यै तलब दिइँदैन, अधिकारको कुरा गर्दा जागिरबाट निकालियो। श्रम अदालतको आदेशसमेत व्यवस्थापनले अटेर गरेको छ।”

पत्रकारहरूलाई तलब उपलब्ध गराउन माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल नागरिक प्रतिष्ठान शाखाले गत भदौ ८ गते व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएको थियो। तर उक्त ज्ञापनपत्रको हालसम्म कुनै औपचारिक जवाफ नआएको शाखाले जनाएको छ।

तलब र सेवा–सुविधा माग गर्दै शाखाले हिजो आन्दोलनसमेत गरेको छ। आन्दोलनमा सहभागी पत्रकारहरूले “हाम्रो काटिएको तलब खै?”, “उपदानको व्यवस्था खै?”, “चरम श्रम शोषण बन्द गर”, “सामाजिक सुरक्षा खै?” र “मालिकको पेट भर्नुपर्छ भने श्रमिकको पेट किन नभरिने?” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

पत्रकारहरूले आफूहरू न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *