देश

सुर्खेत–सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीनको मृत्यु

काँक्रेविहार (सुर्खेत)। पाटेबाघको आक्रमणमा परी सुर्खेत र सल्यानमा एक साताभित्र तीन जनाको मृत्यु भएको छ।

गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघले आक्रमण गरेर मृत्यु भएको थियो। त्यसको तीन दिनपछि, पुस २६ गते सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघले आक्रमण गर्दा मृत्यु भएको थियो।

गत पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडी पिठो पिस्ने क्रममा बाघको आक्रमणमा परेर निधन भएका छन्।

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलका अनुसार बाघले दुई वटा घरपालुवा गाईगोरु पनि मारेको छ। घटनाका कारण निकुञ्ज आसपासका बासिन्दामा त्रास फैलिएको छ। कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले स्थानीय जनजीवनमा डर र असुरक्षा सिर्जना गरेको छ।

बाघको नियन्त्रण वा मार्ने आदेश दिन स्थानीय सरकारको अनुरोधपछि डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ। वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रण वा मार्ने आदेश जारी गरेको डिभिजन वन अधिकृत रावलले जानकारी दिए।

अधिकारितको भनाइ अनुसार, आदेश कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *